काठमाडौं: चाडपर्वको समयमा आन्तरिक उडानको भाडादर अस्वाभाविक रूपमा बढेको गुनासो आएपछि वायुसेवा कम्पनीहरूले स्वीकृत दरभन्दा सस्तोमा टिकट उपलब्ध गराउने सहमति जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा यो निर्णय लिइएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेपछि यस्तो सहमति जुटेको हो। छलफलमा कम्पनीहरूले सरकारले तोकेको स्वीकृत भाडादरको सीमाभित्र रहेर सस्तो मूल्यमा टिकट बिक्री गर्ने प्रतिबद्धता जनाएका छन्।
सहमति अनुसार वायुसेवा कम्पनीहरूले छुटसहितको नयाँ भाडादरबारे आफ्ना आधिकारिक बिक्री प्लेटफर्ममार्फत सार्वजनिक सूचना जारी गर्नुपर्नेछ। यसअघि २०७२ मंसिर २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट आन्तरिक उडानको न्यूनतम र अधिकतम भाडादर निर्धारण गरिएको थियो। सोही पुरानो दरको उच्चतम सीमालाई आधार बनाएर कम्पनीहरूले चाडपर्वमा महँगो भाडा असुलेको गुनासो बढेपछि सरकारले हस्तक्षेप गरेको हो।
