काठमाडौं: काठमाडौंको सुन्धारामा अवस्थित धरहरा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। धरहरामा दैनिक १२ सयदेखि १५ सयसम्म पर्यटक आउने गरेका छन् भने सार्वजनिक बिदाका दिन यो संख्या २५ सयदेखि २८ सयसम्म पुग्ने गरेको छ।
सहरी विकास तथा भवन निर्माण विभागका शाखा अधिकृत एवं धरहराको अन्तरिम सञ्चालक व्यवस्थापन कार्यालयका प्रमुख महेश राईका अनुसार धरहरालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्छ। उहाँले भन्नुभयो, “अर्गनाइज्ड तरिकाले चलाउन सकियो भने यहाँबाट मनग्य आम्दानी गर्न सक्ने, आन्तरिक र विदेशी पर्यटक थप आकर्षित गर्न सकिन्छ। धरहराको पर्यटकीय क्षेत्रसँग कनेक्टिभिटी बढाएर राज्यको आयस्रोतलाई अझ धेरै बढवा दिँदै रोजगारी पनि सिर्जना गर्न सक्ने सम्भावना छ।”
धरहरामा अवलोकनका साथै खुला ठाउँमा विश्राम, योग, कार्यक्रम, फिल्म सुटिङ र फोटोग्राफीका सेवाहरू उपलब्ध छन्। २०७२ सालको भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि २०८१ मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा करिब ५ करोड १० लाख राजस्व संकलन भएकोमा गत आर्थिक वर्ष २०८२/८३ मा धरहराबाट १० करोड ८५ लाख राजस्व संकलन भएको छ। यद्यपि, धरहराको व्यवस्थापनमा नीतिगत स्पष्टताको अभाव चुनौतीका रूपमा देखिएको छ। राईले भन्नुभयो, “केही क्षेत्र पर्यटन मन्त्रालयअन्तर्गत, क्षेत्र पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने, केही चाहिँ अब महानगर र स्थानीय सरकारको पनि पर्न सक्ने। यी तीन निकायबीच समन्वयको आवश्यकता देखिन्छ।”
