काठमाडौं। नेपाल टेलिकमले दसैँ, तिहार र छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक गरेको छ।
कम्पनीले एफटीटीएच (FTTH) जडानमा छुटका साथै जीएसएम मोबाइल सेवामा विशेष भ्वाइस तथा डेटा प्याकेजहरू ल्याएको हो।
कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन्।
साथै, १००, १५० र २०० एमबीपीएसको वार्षिक प्याकेज लिने ग्राहकलाई १३ महिनाको सेवा उपलब्ध गराइनेछ। यस्तो प्याकेजमा पाइने बोनस डेटा पनि १३ महिनासम्म नै प्रयोग गर्न सकिनेछ। भर्चुअल सेट-टप बक्ससहितको प्याकेजमा १ हजार रुपैयाँ छुटको सुविधा यथावत् रहेको छ।
मोबाइल सेवाका लागि कम्पनीले ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा प्याकेज ल्याएको छ।
तोकिएको दैनिक डेटा खपत भएपछि ग्राहकले क्रमशः २ एमबीपीएस र ३ एमबीपीएसको गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न पाउनेछन्।
यसबाहेक, २५० रुपैयाँमा १ हजार मिनेट अल-नेट भ्वाइस सुविधाको ‘जोयफुल मिनेट्स’ र ९९ रुपैयाँमा १ हजार अन-नेट एसएमएसको ‘फेस्टिभ म्यासेज प्याकेज’ पनि उपलब्ध छ। यी सबै प्याकेजहरूको समयावधि ३० दिन कायम गरिएको छ।
ग्राहकहरूले असोज २५ देखि कात्तिक ३० गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको एपमार्फत यी प्याकेजहरू खरिद गर्न सक्नेछन्।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार चाडपर्वका समयमा आफन्तहरूसँगको सञ्चार र डिजिटल सेवाको पहुँच सहज बनाउन यी अफरहरू ल्याइएको हो।
