खोटाङ: नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ। पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित र व्यावसायिक बनाउने उद्देश्यले महासङ्घले मासिक रु ३ हजारका दरले पेन्सन दिन थालेको हो।
महासङ्घले स्थापना गरेको पेन्सन कोषबाट प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले पहिलो पटक सुविधा प्राप्त गर्नुभएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ७२ वर्षीय आचार्यलाई दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा तीन महिनाको पेन्सन रकम हस्तान्तरण गरिएको हो।
महासङ्घका अध्यक्ष हरिबोल आचार्यका अनुसार कोषका लागि नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा रु १० लाख जम्मा गरिएको छ। ६५ वर्ष पूरा भएका र कम्तीमा २५ वर्षदेखि जिल्लामा निरन्तर पत्रकारितामा सक्रिय रहेका पत्रकारले यो सुविधा पाउनेछन्।
महासङ्घका सचिव राजकुमार भट्टराईका अनुसार पेन्सन कोषको सुविधा लिन पत्रकार कुनै राजनीतिक दल वा अन्य पेसागत संस्थाको कार्यकारी पदमा नरहेको हुनुपर्नेछ। साथै, सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिल नेपालको कालोसूचीमा नपरेको र फौजदारी अपराधमा दोषी नठहरिएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ। यो सुविधा प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक, फोटो पत्रकार र व्यङ्ग्य चित्रकारका लागि खुला छ।
कोषलाई थप व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न दातृ निकायबाट सहयोग लिइने महासङ्घले जनाएको छ। विसं २०६१ मा स्थापना भएको महासङ्घ खोटाङ शाखामा हाल ३१ जना साधारण सदस्य छन्।
यसैबीच, महासङ्घले आफ्नो कार्यालय भवन निर्माणको कामलाई पनि तीव्रता दिएको छ। कोशी प्रदेश सरकारको रु ३ करोड बजेटमा निर्माण भइरहेको साढे दुईतले भवन विसं २०८४ पुस २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल महासङ्घले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ।
