पोखरा: गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सोमबार कास्कीको पोखरामा सम्पन्न भएको छ । होटल पोखरा ग्राण्डमा आयोजित उक्त सभाले सेयर धनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले आफ्ना सेयर धनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो । नगद लाभांशमा प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरणहरू पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा रहेको छ । १० प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।
ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
