मुक्तिनाथ। चालु आर्थिक वर्ष २०८२/८३ को असोज २७ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट १९ अर्ब ४० करोड रुपियाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र तातोपानी नाका सञ्चालनमा समस्या आएपछि कोरला नाका हुँदै कन्टेनर भित्रिने क्रम बढेको छ।
मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अविन्द्र सिंहका अनुसार साउनदेखि असोज २७ गतेसम्म आठ अर्ब ३२ करोड ८३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ।
यस अवधिमा दैनिक अधिकतम ४० करोड रुपियाँसम्म राजस्व सङ्कलन भएको छ। सोही अवधिमा नेपालबाट ३७ लाख ७८ हजार रुपियाँ मूल्यका वस्तु मात्र निर्यात भएका छन्। कार्यालयले चालु आर्थिक वर्षका लागि राखेको नौ अर्ब रुपियाँको राजस्व सङ्कलन लक्ष्य असोज महिनामै पूरा हुने सम्भावना देखिएको छ।
कोरला नाकाबाट मुख्यतया विद्युतीय सवारीसाधन, घरायसी सामग्री, सौन्दर्य प्रसाधन, विद्युतीय उपकरण, जलविद्युत् आयोजनामा प्रयोग हुने मेसिन तथा लत्ताकपडा आयात हुने गरेका छन्।
साउनयता मात्र तीन हजार १२६ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। यद्यपि, सडकको अवस्था कमजोर भएकाले पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा केही कमी आएको छ।
भन्सार प्रमुख विदुर चुँडालका अनुसार सडकखण्डमा अवरोध हुँदा चिनियाँ विद्युतीय सवारीसाधन नाकापारि नै रोकिएका छन् भने जाँचपास भइसकेका सवारीसाधनसमेत मुस्ताङमा थन्किएका छन्।
उनले चाडपर्व लक्षित सामानको आयात भइरहेको र कात्तिक महिनाको अन्तिमसम्म भन्सारमा चहलपहल बढ्ने बताउनुभयो। व्यापार वृद्धिसँगै स्थानीय मजदुर, चालक र व्यापारीको चहलपहल पनि बढेको छ।
समुद्र सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका विसं २०८० कात्तिक २७ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो।
गत आर्थिक वर्षको भदौ ३० गतेदेखि यो नाका व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। आयात गरिएका सामान १८६ किलोमिटर लामो कोरला-जोमसोम-बेनी सडकखण्ड हुँदै पोखरालगायतका बजारमा पुर्याइन्छ।
