काठमाडौं: प्राकृतिक विपत्ले यस वर्ष गण्डकी प्रदेशका हिमाली जिल्लाहरूलाई नराम्ररी प्रभावित बनाएको छ। बाढीपहिरोका कारण सडक र पदमार्ग क्षतविक्षत हुँदा स्थानीय बासिन्दाले इतिहासकै चर्को आर्थिक नोक्सानी बेहोर्नुपरेको छ। यातायात अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभावसँगै महँगी बढेको छ।
असोज-कात्तिकको मुख्य पर्यटकीय सिजनमा पदमार्ग बन्द भएपछि पर्यटन व्यवसायी, होटल सञ्चालक र भरियाहरूले आम्दानीको स्रोत गुमाएका छन्। स्याउ उत्पादनको मुख्य समयमा ढुवानी ठप्प हुँदा लाखौं मूल्यका स्याउ बोटमै कुहिएर नष्ट भएका छन्। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ मा रहेको तीन सय मिटर लामो क्यान्टिलिभर पुल बाढीले बगाएपछि वडा नम्बर ६ र ७ का करिब १५ सय बासिन्दा सम्पर्कविच्छेद भएका छन्।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पुल बगेपछि खाद्यान्न र औषधिको आपूर्ति ठप्प भएको छ। अहिले सेना र प्रहरीको सहयोगमा काठेपुल निर्माणको प्रयास भइरहे पनि प्राविधिक कठिनाइ देखिएको छ। मनाङको चामेमा मर्स्याङ्दी नदीको बाढीले पक्की पुल डुबाउँदा माथिल्लो मनाङतर्फको यातायात दुई सातासम्म बन्द भयो। प्रशासनले पुलको फलामे बिममाथि काठ राखेर अस्थायी रूपमा सवारी सञ्चालन गराएको छ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले समयमै अस्थायी उपाय नअपनाएको भए मानवीय संकट निम्तिने अवस्था रहेको बताए। यता, मुस्ताङको कालीगण्डकी करिडोर दुई साता बन्द हुँदा माथिल्लो भेगमा खाद्यान्न, ग्यास र औषधिको चरम संकट देखिएको थियो। परम्परागत रूपमा मौज्दात राख्ने बानी हराउँदा सडक अवरुद्ध हुनासाथ त्यसको प्रत्यक्ष मार स्थानीयको भान्सासम्मै परेको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु घलेका अनुसार सडक सञ्जालमा मात्र निर्भर रहँदा यस्तो समस्या देखिएको हो। सडक खुले पनि स्याउ ढुवानी हुन नसक्दा किसानले ठूलो क्षति बेहोरेका छन्।

