सर्लाही। दसैँ नजिकिएसँगै सर्लाहीमा चहलपहल तीव्र बनेको छ। काठमाडौँ उपत्यकामा अध्ययन र रोजगारीका लागि बसेका मानिसहरू गाउँ फर्कने क्रम बढेसँगै जिल्लामा दसैँको रौनक छाएको हो।
शनिबारदेखि बिदा सुरु भएकाले आउँदा केही दिन सार्वजनिक यातायातमा यात्रुको चाप अझ बढ्ने व्यवसायीहरूले बताएका छन्।
लालबन्दी नगरपालिका-५ का टिकट काउन्टर सञ्चालक बिजय लामाका अनुसार फूलपातीदेखि नवमीसम्म काठमाडौँबाट जिल्ला भित्रिने गाडीहरूमा सिट भरिइसकेको छ। कार्यालयहरूमा बिदा भएसँगै घर फर्कनेहरूको संख्या थप बढ्ने स्थानीयको भनाइ छ। यसबाहेक, वैदेशिक रोजगारीमा रहेकाहरू पनि घर फर्कन थालेका छन्। हरिपुर नगरपालिका-२ का वडाध्यक्ष निलबिक्रम थापाका अनुसार मानिसहरू घर सफाइ, रङ्गरोगन र किनमेलमा व्यस्त छन्।
बयलवास, लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बागमती र बरहथवालगायतका प्रमुख बजारमा चहलपहल बढेको छ। हरिवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रयागराज पोतेले दसैँका कारण कपडा, खाद्यान्न र रङ्गरोगनका सामग्रीको व्यापार बढेको र यसले व्यवसायीलाई केही राहत मिलेको बताउनुभयो। यद्यपि, ऋण लिएर व्यवसाय गरेका कतिपय व्यवसायीहरूले भने सोचेजस्तो व्यापार नभएको गुनासो गरेका छन्।
हाटबजारहरूमा खसीबोकाको कारोबार पनि बढेको छ। लालबन्दी-७ का स्थानीय श्याम शिवाकोटीले खसीबोकाको मूल्य यस वर्ष महँगो भएको बताउनुभयो। एकातिर दसैँको उल्लास छ भने अर्कोतिर किसानहरूलाई पाकेको धान भित्र्याउने चटारो पनि छ।

