मुस्ताङ। चीनसँगको उत्तरी सिमानामा रहेको कोरला नाकाबाट पछिल्लो एक महिनामा दुई हजार चार सय १८ टन फलफूल र खाद्य सामग्री आयात भएको छ।
रसुवागढी र तातोपानी नाका बन्द भएपछि तिब्बत हुँदै लिजी-नेचुङ (कोरला) नाकाबाट चाडपर्व लक्षित वस्तुहरू नेपाल भित्रिएका हुन्।
लोमान्थाङ गाउँपालिका-४, नेचुङस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आयातित वस्तुमा सबैभन्दा बढी सात सय ७० दशमलव ८४ टन ओखर र सात सय तीन दशमलव आठ टन स्याउ रहेको छ।
यसका साथै दुई सय ३२ दशमलव ९४ टन नासपाती, दुई सय २२ दशमलव ७७ टन किसमिस, एक सय तीन दशमलव ४३ टन आँप, ८७ दशमलव १३ टन ड्रागन फल र ६६ दशमलव १९ टन अङ्गुर आयात भएको छ। साथै लसुन, तेल, किबी, खुर्सानी र टिम्बुर पनि भित्रिएका छन्।
क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरले नेपाली भान्सामा प्रयोग हुने विभिन्न फलफूल र खाद्य सामग्री यस नाकाबाट भित्रिएको बताए। उनले भने, ”नेपाली भान्सामा पाक्ने र प्रयोग हुने धेरै प्रकारका फलफुल आउने गरेको छ, बाढीपहिरोका ब्यवसायीलाई असर गरेको गुनासो गरे”
चार हजार ६ सय ५० मिटरको उचाइमा रहेको उक्त नाकाबाट भित्रिएका सामग्रीहरू भन्सार जाँच र क्वारेन्टाइन परीक्षणपछि एक सय ८६ किलोमिटर लामो कोरला-जोमसोम-बेनी सडकखण्ड हुँदै पोखरा पुर्याउने गरिएको छ।
केन्द्रले प्रयोगशाला मार्फत रोग तथा हानिकारक किराको परीक्षण गर्ने गरेको छ। बाटो अवरुद्ध हुँदा विगतमा करिब ३० लाख रुपियाँभन्दा बढीका सामग्री बाटोमै नष्ट भएका थिए। हाल उक्त केन्द्रमा वरिष्ठ बाली संरक्षण अधिकृतसहित छ जना कर्मचारी कार्यरत छन्।
