तनहुँ। दिवंगत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप रु १६ लाख सात हजारभन्दा बढी रकम संकलन गरिएको छ ।
तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत संकलित कूल रु १६ लाख सात हजार ८३२ मध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको उपचारका लागि रु १२ लाख पाँच हजार ८७५ हस्तान्तरण गरिएको हो ।
तनहुँ अन्तरराष्ट्रिय समाजका अध्यक्ष राजन त्रिपाठीले इन्दिरा कार्की उपाध्यायलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका छन।
सङ्कलित रकममध्ये बाँकी रु चार लाख एक हजार नौ सय ५७ दसैँलगत्तै स्व उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने समाजले जनाएको छ ।
गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धकसमेत रहनुभएका स्व उपाध्यायको गत महिना निधन भएको थियो । तनहुँको भानु नगरपालिका–१, भन्सार निवासी उपाध्यायको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न संस्थाको संयुक्त पहलमा उक्त रकम सङ्कलन गरिएको हो ।
