काठमाडौं। नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकाका यात्रुहरूको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको समयमा सार्वजनिक यातायातको अभावलाई ध्यानमा राख्दै यो सेवा सुरु गरिएको हो।
प्रहरीले उपत्यकाका तीनवटा फरक रुटमा बस सेवा सञ्चालन गरेको छ। रुट नम्बर १ नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्सालमा पुगेर टुंगिन्छ।
त्यसैगरी, रुट नम्बर २ अन्तर्गत नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक, पुनः कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किने व्यवस्था गरिएको छ। रुट नम्बर ३ मा नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल पुगिनेछ।
यो सेवा मंगलबार दिउँसो ४ बजेदेखि सुरु भइसकेको छ। टीकाको दिन आज बस सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेबाट सुरु हुने प्रहरीले जनाएको छ। सार्वजनिक यातायात नपाएर समस्यामा परेका यात्रुहरूलाई यो सेवाले राहत पुग्ने प्रहरीको अपेक्षा छ।
