म्याग्दी: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको स्थलगत निरीक्षण गरेका छन्। मन्त्री लम्सालले गुल्मी, बागलुङ, पर्वत र म्याग्दी हुँदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेर बाढीबाट प्रभावित भौतिक संरचनाहरूको अवस्थाबारे जानकारी लिए।
निरीक्षणका क्रममा मन्त्री लम्सालले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकीमा आएको बाढी तथा पहिरोले क्षति पुर्याएका संरचनाको पुनः निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले भने, “कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकीको बाढी, पहिरोलगायत विपद्बाट क्षति पुगेको देशभरका भौतिक संरचनाको पुनः निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ, बजेटको अभाव हुँदैन। जति सक्दो छिटो सर्वेक्षण र लागत अनुमानको काम सकेर बजेट माग गर्नुहोस्, पुनः निर्माणमा ढिलाइ हुन नदिन सरकार सचेत छ।”
कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोका कारण करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुगेको र पुनः निर्माणका लागि करिब चार अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको जानकारी गराए। मन्त्री लम्सालले बेनी खानेपानी आयोजना र सिंगा तातोपानी कुण्डका प्रतिनिधिहरूलाई पनि व्यवस्थित योजना तयार गरी बजेटका लागि पेस गर्न आग्रह गरे। साथै, उनले पुनः निर्माणका लागि आवश्यक नदीजन्य स्रोतको व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

