काठमाडौं: धान काट्ने सिजन सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गुलरिया पार्क नजिकै ६१ वर्षीय गोविन्द विकको आरनमा कामको चाप ह्वात्तै बढेको छ। बिहानदेखि साँझसम्म हँसिया, खुकुरी र कृषि औजार बनाउन तथा धार लगाउन आउने किसानको भिड लाग्ने गर्छ। पाँच दशकदेखि फलाम पिट्ने पेसामा संलग्न विकका लागि यो समय आम्दानीको मुख्य स्रोत बनेको छ।
गोविन्दले पुर्खाबाट सिकेको यो पेसालाई निरन्तरता दिँदै आएको छ। उनले भने, “धान काट्ने बेला हँसिया बनाउने र पिट्ने काम धेरै हुन्छ। अरू बेलाभन्दा अहिले काम बढी आउँछ, आम्दानी पनि राम्रो हुन्छ।” उनले हँसिया, फरुवा, खुकुरी र बन्चरो जस्ता औजार मर्मत र निर्माण गर्दै आएको छ।
गोविन्दका अनुसार औजारको प्रकृति र मेहनतअनुसार ज्याला निर्धारण गरिन्छ। सामान्य मर्मतका लागि ५० देखि २५० रुपियाँसम्म लिने उहाँले नयाँ हँसिया वा खुकुरी बनाउन ५०० रुपियाँभन्दा बढी शुल्क लिने गर्छन्। सिजनको समयमा दैनिक ६ हजार रुपियाँसम्म कमाइ हुने र अन्य समयमा महिनाको ५० देखि ६० हजार रुपियाँसम्म आम्दानी हुने उनले बताए। फलाम तताउने र हतौडाले पिटेर औजारलाई आकार दिने काममा उनको वर्षौँको अनुभव छ। किसानहरू आफ्नो कामप्रति सन्तुष्ट भएर आउने गरेकाले यो पेसाले उनको जीवन धानेको छ।

