काठमाडौं: बडादसैँको दोस्रो दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने नेपाली युवाको भिड कायमै छ। दसैँको उल्लास र पारिवारिक भेटघाटका बेला पनि रोजगारी, अध्ययन र अन्य अवसरको खोजीमा सयौँ युवायुवती विदेश प्रस्थान गरिरहेका छन्।
विमानस्थलमा देखिएको यो भिडले मुलुकको बदलिँदो आर्थिक र सामाजिक अवस्थालाई झल्काउँछ। स्वदेशमा पर्याप्त रोजगारी र भविष्यको सुनिश्चितता नहुँदा युवा पुस्ता विदेशिन बाध्य भएको देखिन्छ।
सिरहाका लखनकुमार यादवले नेपालमा योग्यताअनुसारको काम नपाउँदा दसैँको समयमा परिवार छाडेर विदेशिनुपरेको गुनासो गरे। उनले भने, “योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन। आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु।”
त्यस्तै, गुल्मीका प्रकाश खत्रीका अनुसार स्वदेशमा रोजगारीका अवसर कम हुनु र विदेश जानेहरूको आर्थिक हैसियतमा देखिने सुधारका कारण युवाहरू विदेशतर्फ आकर्षित भएका हुन्। उनले थपे, “नेपालमा रोजगारीको अवसर नभएको, भएपनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ।”
यता, छोरालाई विदेश पठाउन विमानस्थल पुगेका कैलालीका ठक्कर कलेलले युवा पलायनले मुलुकको दीर्घकालीन विकासमा चुनौती थप्ने चिन्ता व्यक्त गरे। उनले दक्ष र मेहनती जनशक्ति बाहिरिँदा कृषि, उद्योग र पर्यटनलगायतका उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुन सक्ने बताए।

