काठमाडौं: म्याग्दीको अन्नपूर्ण गाउँपालिका: ६ मा रहेको घोडेपानी-पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। मनसुन सकिएसँगै खुलेको मौसम र दसैँतिहारको बिदाका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो गन्तव्य पर्न थालेको हो।
घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार असोज महिनामा विपद्का कारण सुनसान रहेको यस क्षेत्रमा कात्तिक महिनाको सुरुआतसँगै पर्यटकको आगमन बढेको छ। हाल दैनिक करिब २०० विदेशी र ५० नेपाली पर्यटक यहाँ पुग्ने गरेका छन्।
समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे र मनास्लुसहित १५ भन्दा बढी हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। स्थानीय व्यवसायी सुरेश पुनले मौसम खुलेका बेला हिमशृङ्खलाहरू नजिकबाट देखिने भएकाले पर्यटक आकर्षित हुने गरेको बताए।
घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने गरी २५ वटा सुविधायुक्त होटल सञ्चालनमा छन्। होटल व्यवसायी टेकसर बुद्धुजा पुनले पर्यटकको आगमन बढेसँगै व्यवसायीहरू व्यस्त बनेको र आगामी दिनमा पर्यटकको संख्या अझ बढ्ने अपेक्षा गरिएको बताए।
अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने यो क्षेत्र छोटो अवधिको पदयात्राका लागि विश्वभर प्रख्यात छ। पोखराबाट नयाँपुल हुँदै पदयात्रा गरेर वा म्याग्दीको घार र शिख हुँदै सडकमार्गबाट यहाँ पुग्न सकिन्छ।
पर्यटन व्यवसायीहरूका अनुसार पछिल्लो समय विभिन्न क्षेत्रमा आएको बाढीपहिरोले नेपालको पर्यटनमा असर पारे पनि घोडेपानी-पुनहिल क्षेत्र सुरक्षित छ। उनीहरूले पर्यटन क्षेत्रको वास्तविक अवस्थाबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन्। पुनहिलको नामकरण भारतीय सेनाबाट सेवानिवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले गरेका थिए, जसको स्मृतिमा त्यहाँ दृश्यावलोकनस्थलसमेत निर्माण गरिएको छ।

