काठमाडौं: चिसो मौसम सुरु भएसँगै झापा, मोरङ र सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ। राजवंशी समुदायको यो परम्परागत परिकार पछिल्लो समय सबै उमेर समूहका उपभोक्ताको रोजाइमा पर्न थालेको छ।
मेचीनगर नगरपालिका-१५ की जागनी राजवंशी विगत एक दशकदेखि धुलाबारी मोडमा भक्का बेच्दै आएकी छन्। उनले दैनिक १० किलो चामलको पीठो प्रयोग गरी भक्का बनाउने गरेको बताइन्। बिहान ५ बजे नै पसलका लागि आवश्यक सामग्री लिएर बजार निस्कने उनी सालको पातमा तातो भक्का र अचार पस्किन्छिन्। चामलको पीठोलाई बाफमा पकाएर बनाइने भक्कामा कुनै चिल्लो पदार्थको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ।
त्यस्तै, मेचीनगर-१० की अम्ला राजवंशीले पनि डेढ दशकदेखि खयरडाँगी चोकमा भक्का व्यवसाय गर्दै आएकी छन्। उनले दैनिक १५ किलो चामलको पीठोको भक्का बिक्री हुने गरेको जानकारी दिइन्। बिहानको समयमा पदयात्रामा निस्कने व्यक्ति, विद्यार्थी र वृद्धवृद्धा उनको पसलका नियमित ग्राहक हुन्। उनले भक्का बिक्रीबाट मासिक ५० हजारदेखि ७५ हजार रुपैयाँसम्मको कारोबार हुने र त्यसमा आधाभन्दा बढी नाफा हुने गरेको बताइन्।
स्थानीय व्यापारीका अनुसार कात्तिकदेखि फागुनको पहिलो हप्तासम्म भक्काको माग उच्च हुने गर्दछ। झापाका राजमार्ग उत्तरका तुलनामा दक्षिणी क्षेत्रमा यस्ता पसल बढी देखिन्छन्। भक्का व्यवसायले हजारौँ आदिवासी महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाएको छ। यद्यपि, नयाँ पुस्ता भने यस व्यवसायमा खासै आकर्षित देखिएका छैनन्।
विद्यार्थी रमिला लिम्बूले बिहान क्याम्पस जानुअघि चिया र अचारसँग भक्का खाने गरेको बताइन्। पूर्वी नेपालको मौलिक पहिचान बनेको यस परिकारको प्रवर्द्धन गर्न झापामा बर्सेनि ‘भक्का दिवस’ समेत मनाउने गरिएको छ।
