काठमाडौं: दसैंको अवसरमा प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये ‘कबड्डी ५’ ले बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ। कात्तिक ६ गते रिलिज भएको यस चलचित्रले प्रदर्शनको १० दिनमा १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डका अनुसार यस अवधिमा चलचित्रका ३ लाख ४६ हजार ४२७ टिकट बिक्री भएका छन्।
यस वर्षको दोस्रो धेरै कमाउने चलचित्र बनेको ‘कबड्डी ५’ ले ‘पेन्सन पट्टा’लाई पछि पारेको छ। ‘पेन्सन पट्टा’को हालसम्मको कुल ग्रस व्यापार १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ रहेको छ। यी दुवै चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्।
त्यस्तै, दसैंमा प्रदर्शन भएका अन्य चलचित्रमध्ये ‘आ बाट आमा २’ ले ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ कमाइ गरेको छ। यस चलचित्रका २ लाख १३ हजार १९४ टिकट बिक्री भएका छन्। तेस्रो स्थानमा रहेको ‘छ माया छपक्कै २’ ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डले जनाएको छ।
विराज भट्ट निर्देशित ‘१२ गाउँ २’ ले २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ कमाइ गर्दै चौथो स्थानमा रहेको छ। यस चलचित्रका ७४ हजार ८०३ टिकट बिक्री भएका छन्। यसअघि पहिलो भागले २० करोडको व्यापार गरे पनि यस पटकको प्रदर्शन व्यावसायिक रूपमा कमजोर देखिएको छ।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार ‘गौँथली’ ले २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ कमाइ गर्दै यस वर्षको सर्वाधिक कमाउने नेपाली चलचित्रको शीर्ष स्थान ओगटेको छ। यस चलचित्रका ९ लाख ४६ हजार ८३४ टिकट बिक्री भएका छन्। साथै, ‘बाः एक योद्धा’ को व्यापार ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ रहेको छ।
