काठमाडौं: कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब ४५ करोड ९३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। साउन, भदौ र असोज महिनामा गरी उक्त राजस्व सङ्कलन भएको हो। भन्सारले यस अवधिमा १ अर्ब ५० करोड ३० लाख ९३ हजार रुपैयाँको लक्ष्य राखेको थियो।
प्राप्त तथ्याङ्कअनुसार भन्सारले लक्ष्यको ९७.७६ प्रतिशत राजस्व असुली गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २३ करोड ७८ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षका लागि कुल वार्षिक लक्ष्य ६ अर्ब २६ करोड २८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ।
असोज महिनामा भने भन्सारले लक्ष्यभन्दा ९.३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। असोजमा ५६ करोड ६३ लाख ६६ हजार रुपैयाँको लक्ष्य रहेकोमा ६१ करोड ६४ लाख ५९ हजार रुपैयाँ सङ्कलन भएको हो। भन्सार प्रमुख किशोर बर्तौलाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुनु सकारात्मक रहेको बताउनुभयो। स्थानीय व्यवसायीहरूका अनुसार सुरक्षा निकायले नाकामा गरेको कडाइले राजस्व असुलीमा सकारात्मक प्रभाव पारेको छ।
कृष्णनगर नाकाबाट फलाम, कोइला, माल्ट, तयारी कपडा, आल्मुनियमका सामग्री, तयारी सुर्ती र एलपीजी ग्यासको आयातबाट बढी राजस्व प्राप्त हुने गरेको छ। यसैगरी, सोही अवधिमा ५७ करोड ५६ लाख २० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न वस्तु निर्यात भएका छन्। निर्यात हुने प्रमुख वस्तुहरूमा प्लाइउड, खैरो सिमेन्ट, खोटो रेजिन, छड, सिमेन्ट क्लिङ्कर र तारपिनको तेल रहेका छन्।
