काठमाडौँ: काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फूल र सजावटका सामग्रीको बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै तिहारलगायतका चाडपर्वमा प्लास्टिकका फूल तथा मालाको प्रयोगबाट हुने वातावरणीय क्षति कम गर्न यस्तो निर्णय गरेको हो।
नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ अनुसार प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको छ। महानगरले सूचनाको अवज्ञा गरी प्लास्टिकका सामग्री बिक्री वा सजावटमा प्रयोग गरेको पाइएमा ती सामान जफत गर्ने र प्रचलित ऐन बमोजिम कारबाही गरिने जनाएको छ।
महानगरपालिकाले स्वदेशी किसानलाई प्रोत्साहन गर्न र नेपाली फूलको बजार सुनिश्चित गर्न यस वर्ष विभिन्न ३३ स्थानमा स्वदेशी फूल बिक्रीका लागि स्थान तोकेको छ। विगतका वर्षदेखि नै सुरु गरिएको यो व्यवस्थाले विदेशी फूलको आयातलाई कम गरी नेपाली उत्पादनलाई प्राथमिकता दिने लक्ष्य राखेको छ।
तोकिएका बिक्री स्थलहरूमा लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटी, कलङ्की भाटभटेनी, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, महाराजगन्ज सेल्सबेरी, गोङ्गबु बिगमार्ट, चप्पल कारखाना, बालुवाटार, तीनकुने चौर र सिफल चौरलगायतका स्थान रहेका छन्।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार किसानहरूलाई बिक्री केन्द्र व्यवस्थापनमा सहयोग गर्न विशेष व्यवस्था गरिएको छ। बिक्री स्थलका बारेमा थप जानकारी वा सहजीकरणका लागि किसानहरूले महानगर प्रहरीको कार्यालयमा ०१-५९०१७६३, ०१-५९०१७६४ वा ९८५१३५६५०९ मा सम्पर्क गर्न सक्नेछन्।
