काठमाडौं: तिहार पर्व नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको माग र उत्पादन दुवै बढेको छ। चामलको पिठोबाट बनाइने झिनियालाई झिलिङ्गा रोटी पनि भनिन्छ। चाडपर्वमा पाहुनाको सत्कार र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्न यसको प्रयोग हुने गर्छ।
बेनी नगरपालिका-७ की टकसरा रानाले विगत २५ वर्षदेखि झिनिया बनाउँदै आएको छिन् । उनका अनुसार बेनी बजारका साथै ग्रामीण भेग, पोखरा र विदेशबाट समेत यसको माग आउने गरेको छ। दुई वर्षअघि अस्ट्रेलियाबाट २५ हजार रुपियाँ बराबरको माग आएकामा उत्पादन क्षमताका कारण १३ हजार रुपियाँ बराबरको मात्र बिक्री गर्न सकेको उनले बताइन्।
त्यस्तै, मङ्गलाघाटका हेमबहादुर पुनले परिवारका १० सदस्य मिलेर दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन गरिरहेको बताए। चाडपर्वको समयमा दुईदेखि तीन लाख रुपियाँसम्मको झिनिया बिक्री हुने गरेको उनको भनाइ छ। सोही स्थानकी कल्पना श्रेष्ठले पनि एक जना श्रमिक राखेर उत्पादन गरिरहेको छ। उनका अनुसार चाडपर्वमा तीनदेखि चार लाख रुपियाँसम्मको कारोबार हुने गर्छ। उत्पादित झिनिया बेनी बजार, म्याग्दीका ग्रामीण क्षेत्र, पर्वत, बागलुङ र पोखरासम्म पुग्ने गरेको छ।
विद्युतीय मेसिनको प्रयोग गरी पिठोबाट बनाइने झिनियालाई दुई दिन घाममा सुकाएर तयार गरिन्छ। घिउ वा तेलमा तारेर खान सकिने १२ वटा झिनिया भएको एक प्याकेटको मूल्य १४० देखि १५० रुपियाँसम्म पर्ने गरेको छ। मङ्गलाघाटमा मात्र १५ जना उद्यमी अहिले झिनिया उत्पादनमा व्यस्त छन्।
