काठमाडौं: तिहारको मुख्य दिन लक्ष्मीपूजाका अवसरमा ललितपुरको मंगलबजारमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्ने सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। आइतबार बिहानैदेखि मंगलबजारमा फूल, माला, दुना-टपरी, दियो-पाला र भाइमसला लगायतका सामग्री बिक्रीका लागि राखिएका थिए।
तिहारको समयमा घर सजाउन र पूजाका लागि आवश्यक पर्ने सामग्री एकै स्थानमा सहजै उपलब्ध भएकाले सर्वसाधारणको भिड बढेको हो। फूल र मालाको व्यापार गरिरहेका व्यवसायीहरू आफ्नो व्यापारबाट सन्तुष्ट देखिएका छन्। उनीहरूले यस वर्ष फूल र मालाको बिक्रीबाट राम्रो आम्दानी भएको बताएका छन्।
यता, चाडपर्वका लागि सामग्री किन्न पुगेका केही उपभोक्ताहरूले भने मूल्य केही बढेको गुनासो गरेका छन्। सामानको मूल्य बढेको भए पनि भाइमसला, दियो र दुना-टपरीको व्यापार पनि बजारमा उत्तिकै उत्साहजनक देखिएको छ। लक्ष्मीपूजाको दिन साँझ घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ।
