काठमाडौं: इलाम नगरपालिका-१० सिल्पुरका गंगाबहादुर गोलेको व्यावसायिक सयपत्री फूल खेती आम्दानीको भरपर्दो स्रोत बनेको छ। बारीभरि ढकमक्क फुलेको सयपत्रीले उनको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ रङ भरेको छ। उनले आफ्नो बारीमा व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेर वार्षिक करिब चार लाख रुपियाँ आम्दानी गर्दै आएका छन्।
सयपत्री फूलको धार्मिक, सांस्कृतिक र सजावटमा हुने प्रयोगले यसको बजार सम्भावना बढाएको फ्लोरिकल्चर एसोसिएसन इलामकी अध्यक्ष रन्जिता जिमिले बताइन्। इलामको पहिचान चिया, अलैँची र अदुवाका साथै पछिल्लो समय फूल खेती पनि किसानका लागि आम्दानीको अर्को सम्भावनायुक्त क्षेत्र बन्न थालेको छ।
गंगाबहादुरले आफ्नो उत्पादन बिक्री गर्न टाढा बजार खोज्नुपर्ने अवस्था छैन। मेची राजमार्गअन्तर्गत सिल्पुर-माइखोला सडक खण्डको छेउमै राखेर उनी फूल बिक्री गर्छन्। राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू उनका मुख्य ग्राहक हुन्। सवारी चालक राजु चौहानका अनुसार सडक छेउबाटै ताजा र आकर्षक फूल किन्न पाउँदा यात्रुहरू सहजै आकर्षित हुने गरेका छन्।
सडक छेउको खुद्रा बिक्रीबाहेक व्यापारीहरू बगानमै पुगेर पनि फूल खरिद गरी लैजाने गरेका छन्। थोरै जग्गाको सदुपयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण गंगाबहादुरले प्रस्तुत गरेका छन्। फूल रोप्ने, हुर्काउने र गोडमेल गर्ने मेहनतले अहिले आर्थिक प्रतिफल दिएको छ। स्थानीय उत्पादनलाई स्थानीय सडक र बजारसँग जोड्न सके कृषि व्यवसायबाटै राम्रो आम्दानी गर्न सकिने सन्देश उनले दिएका छन्।
