काठमाडौं: निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ ले प्रदर्शनको पाँचौं दिन बक्स अफिसमा ऐतिहासिक व्यापार गरेको छ। रणवीर कपुर, यश र साई पल्लवी अभिनित यस फिल्मले सोमबारका लागि मात्र अग्रिम बुकिङमार्फत ५३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ।
प्रतिवेदनका अनुसार फिल्मले अग्रिम टिकट बिक्रीबाट ४५ करोड रुपैयाँ नेट आम्दानी सुनिश्चित गरेको छ। भारतभरका २५ हजार ३ सय सक्रिय शोहरूबाट १४ लाख २८ हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्। सोमबार बिहान र दिउँसोका २ सय ८९ शो हाउसफुल भएका छन् भने ९२ वटा शो पूर्ण रूपमा भरिएका छन्। विशेष गरी थ्रीडी, आइम्याक्स र फोरडीएक्स स्क्रिनहरूमा उच्च माग देखिएको छ।
यस अग्रिम बुकिङका आधारमा ‘रामायण’ ले बलिउड इतिहासमा सबैभन्दा धेरै पहिलो सोमबारको नेट कलेक्सन गर्ने फिल्म ‘धुरन्धर २’ को ६० करोड रुपैयाँको कीर्तिमानलाई चुनौती दिने देखिएको छ। यसअघि ‘एनिमल’ ले ४० करोड ६ लाख रुपैयाँ, ‘गदर २’ ले ३८ करोड ७ लाख रुपैयाँ र ‘स्त्री २’ ले ३८ करोड १ लाख रुपैयाँ पहिलो सोमबार संकलन गरेका थिए।
फिल्मले ओभर-द-काउन्टर टिकट बिक्री अगावै ४५ करोड रुपैयाँ नेट संकलन गरेर शीर्ष स्थानमा आफ्नो उपस्थिति बलियो बनाएको छ। दिउँसो र बेलुकाको सोको व्यापारसहित फिल्मले ‘धुरन्धर २’ को कीर्तिमान तोड्ने प्रक्षेपण गरिएको छ। यो फिल्म साई पल्लवीको करिअरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ भने यशको दोस्रो र रणवीर कपुरको चौथो सबैभन्दा ठूलो फिल्मको रूपमा स्थापित भएको छ।
