काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड ५१ लाख रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म प्राप्त सहायतामध्ये अधिकांश ऋण रहेको छ।
यस अवधिमा नेपालले ३४ अर्ब ३४ करोड दुई लाख रुपैयाँ ऋण र सात अर्ब ९८ करोड ४९ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। कुल वैदेशिक सहायता प्राप्ति ४२ अर्ब ३२ करोड ५१ लाख ९२ हजार रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब नौ अर्ब दुई करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने लक्ष्य राखेको छ। यसमध्ये दुई खर्ब ४७ अर्ब २८ करोड सात लाख रुपैयाँ ऋण र ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य छ।
पहिलो तीन महिनाको प्राप्ति वार्षिक लक्ष्यको १३.६९ प्रतिशत हो। लक्ष्यको तुलनामा सहायता प्राप्तिको गति सुस्त देखिएको छ।
वैदेशिक सहायता प्राप्ति केही भए पनि नयाँ सहायता परिचालनका लागि प्राप्त प्रतिबद्धता भने निकै कम छ। अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म जम्मा ६ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।
मासिक विवरणअनुसार साउनमा दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ, भदौमा एक अर्ब ९३ करोड ७३ लाख रुपैयाँ र असोजमा दुई अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको सहायता प्रतिबद्धता आएको छ। तीन महिनाको कुल प्रतिबद्धता वार्षिक सहायता लक्ष्यको तुलनामा निकै न्यून छ।
