काठमाडौं। बाजुराको मार्तडी: कोल्टी सडक निर्माण कार्य आठ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।
२०७६ सालमा सुरु भएको यो सडक आयोजना निर्माण कम्पनीको ढिलासुस्तीका कारण अलपत्र परेको हो। यसले गर्दा जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीय बासिन्दाले आवतजावतमा सास्ती खेप्नुपरेको छ।
भौतिक पूर्वाधार विकास कार्यालय अछामका अनुसार २०७८ असार मसान्तभित्र सक्ने गरी २०७६ असारमा ठेक्का सम्झौता भएको थियो। कुल ४२ किलोमिटर लामो यो सडक निर्माणका लागि ८५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो। जसमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँले २३ करोडमा नौ किलोमिटर र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोडमा ३१ किलोमिटर सडक निर्माणको जिम्मा पाएका थिए।
अहिलेसम्म मार्तडी-चुथी खण्डको नौ किलोमिटर सडक कालोपत्रे भए पनि ढम्कने-कोल्टी खण्डको ३१ किलोमिटर सडकको काम अझै अधुरो छ। निर्माण कम्पनीहरूले पहिलो किस्ताबापत ३५ करोड रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ।
बुढीनन्दा नगरपालिकाका स्थानीय रामबहादुर रोकायाका अनुसार सडक निर्माण नहुँदा स्याउ, सुन्तला, कागती र तरकारी जस्ता कृषि उपज बजारसम्म पुर्याउन निकै समस्या भइरहेको छ।
भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्बहादुर थापाका अनुसार निर्माण कम्पनीले मेसिन मर्मत गरी पुनः काम सुरु गर्ने तयारी गरेको छ।
