चितवन: चितवनका दुग्ध उत्पादक किसानले दुधको मूल्य वृद्धि गर्न माग गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बजारमा दाना र चोकरको मूल्य बढेकाले दुधको मूल्य समायोजन गर्नुपर्ने बताएको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष किशोर वगालेले विसं २०७९ यता दुधको मूल्य नबढेको जानकारी दिए। हाल किसानले प्रतिलिटर चार फ्याट र आठ एचएनएफ भएको दुधको मूल्य रु ६५ पाउँदै आएका छन्। सङ्घले कच्चा दुधको मूल्य बढाएर प्रतिलिटर रु ७५ पुर्याउन माग गरेको छ।
अध्यक्ष वगालेका अनुसार दाना र चोकरको मूल्य वृद्धिले उत्पादन लागत बढेको छ। सामान्य अवस्थामा प्रतिलिटर रु ५५ देखि ६० सम्म पर्ने उत्पादन लागत अहिले बढेको उनले बताए। उनले भने, “दसैँअघि देखि दुधको मूल्य वृद्धि गर्न माग गरिएकोमा अहिलेसम्म पनि वृद्धि हुन सकेको छैन।” सङ्घले यसअघि नै सम्बन्धित निकायमा पुगेर मूल्य वृद्धिको माग राखिसकेको जनाएको छ।
चितवन जिल्लामा हाल दैनिक तीन लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ। उत्पादित दुधमध्ये ५५ प्रतिशत बाहिरी जिल्लामा आपूर्ति हुने गरेको छ। जिल्लाभर ११५ वटा दुग्ध उत्पादक सहकारीमार्फत दुध सङ्कलन गरी बजारमा पुर्याउने गरिएको छ।
