काठमाडौं: बाँकेमा भूमिहीन दलित र सुकुमबासीलाई जग्गा धनीपुर्जा वितरण गर्ने कार्य सुरु भएको छ। जिल्लामा भूमि समस्या समाधानका लागि गठित समितिले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बाट यो प्रक्रिया अघि बढाएको हो।
बुधबार आयोजित एक कार्यक्रममा राप्ती सोनारी ४ का १० जना भूमिहीन दलित र सुकुमबासीलाई जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुरेश चौधरी, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी तथा भूमि समस्या समाधान समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङ, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु र वडाध्यक्ष मिनराज खड्काको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले वर्तमान सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न अध्यादेशमार्फत कानुन संशोधन गरी कामलाई तीव्रता दिएको बताए। राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने अभियानमा गाउँपालिकाले आफ्नै कर्मचारी खटाएर सहयोग गरिरहेको जानकारी दिए।
