काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यो नाफा दोब्बरभन्दा बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो।
नाफामा भएको यो वृद्धिको मुख्य कारण विदेशी विनिमय तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ हो। समीक्षा वर्षमा बैंकले विदेशी विनिमय पुनर्मूल्याङ्कनबाट २ खर्ब ५४ अर्ब रुपैयाँ र सुन तथा चाँदी पुनर्मूल्याङ्कनबाट ७१ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो लाभ क्रमशः ४५ अर्ब ३ करोड र ४६ अर्ब ८८ करोड ६७ लाख रुपैयाँ मात्र थियो।
पुनर्मूल्याङ्कन लाभ र हानि समायोजन हुनुअघिको बैंकको नियमित खुद आय ३.८४ प्रतिशतले बढेर ८३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले वृद्धि भई ९३ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ। बैंकको कुल सञ्चालन खर्च १० अर्ब ३५ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
बैंकको सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले ऐनबमोजिम विभिन्न कोषमा रकम विनियोजन गरी बाँकी रहेको सञ्चालन नाफाबाट ४२ अर्ब रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। बैंकले विदेशी विनिमय र सुनचाँदी पुनर्मूल्याङ्कन लाभ सम्बन्धित समीकरण कोषमा सारेको छ। साथै, खुला बजार कारोबार स्थिरीकरण कोषमा ३६ अर्ब ५० करोड र साधारण जगेडा कोषमा १३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकको कुल इक्विटी ५४.०५ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको छ।
