काठमाडौं: चालु आर्थिक वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै सो सङ्ख्यामा पर्यटक मुस्ताङ पुगेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि कात्तिक महिनासम्म दुई हजार ८४१ स्वदेशी र पाँच हजार २२३ विदेशी पर्यटकले थोरङ्ला पास पार गरेका छन्। पदयात्रीहरू लमजुङको बेँसीसहरबाट मनाङ हुँदै पाँच हजार ४१६ मिटर उचाइको थोरङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ पुग्ने गर्छन्।
प्रहरीको तथ्याङ्कअनुसार साउनमा १३३, भदौमा ३९९, असोजमा एक हजार ३६८ र कात्तिकमा छ हजार १६४ पर्यटकले उक्त पदमार्ग प्रयोग गरेका छन्। कात्तिक महिनामा मौसम अनुकूल रहेकाले पर्यटकको आगमन अन्य महिनाको तुलनामा बढी देखिएको छ।
असोज ११ गते भारी हिमपातका कारण दुई साताभन्दा बढी समय पदमार्ग अवरुद्ध भएको थियो। सो समयमा मनाङ र मुस्ताङका पर्यटन व्यवसायी तथा सुरक्षाकर्मीले हिउँ पन्छाएर पदमार्ग पुनः सञ्चालनमा ल्याएका थिए। यस पदमार्गमा विदेशी पर्यटकहरू जोखिमपूर्ण पदयात्रा गर्दै मुस्ताङ भित्रिने गर्छन्। सामान्यतया यो पदमार्गमा वर्षको दुई सिजनमा गरी करिब पाँच महिना पर्यटकको चहलपहल हुने गर्छ।
