काठमाडौं: धादिङको घोप्टेभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार बिहानदेखि निरन्तर पहिरो खसिरहेका कारण सडकमा ढुंगा र माटो थुप्रिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो नरोकिएकाले तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको छ।
नागढुंगा-मुग्लिङ सडक योजना कार्यालयले पहिरो पन्छाउन आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको जनाएको छ। यद्यपि, पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने काम प्रभावित भएको छ। कार्यालयले थप पहिरो खस्न सक्ने जोखिम रहेकाले सडक प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रुहरूलाई हतार नगरी, सुरक्षित दूरी कायम राखेर र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।
सडक अवरुद्ध हुँदा यस खण्ड भएर यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्। सम्बन्धित निकायले पहिरो पन्छाउने कामसँगै आगामी केही दिनभित्र दुईतर्फी सवारी आवागमन सुचारु गर्ने गरी तयारी भइरहेको जनाएको छ।
