काठमाडौं: चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ३५.४ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ।
समीक्षा अवधिमा खुद द्वितीय आय ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ रहेको छ। गत वर्षको सोही अवधिमा क्रमशः १ लाख २३ हजार ४५९ र ७७ हजार २५७ जनाले श्रम स्वीकृति लिएका थिए।
