काठमाडौं। होटल एशोसिएशन नेपाल (हान) ले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई भारतीय पर्यटक आगमन बढाउने र दुईपक्षीय पर्यटन सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्न सरकारसँग आग्रह गरेको छ।
हानले नेपाल भ्रमण वर्ष २०२८ सम्ममा वार्षिक भारतीय पर्यटकको सङ्ख्या हालको तीन लाखबाट दोब्बर गरी ६ लाख पुर्याउने लक्ष्य राखेको छ।
हानका अध्यक्ष विनायक शाहले हवाई तथा स्थल कनेक्टिभिटीको विस्तार, धार्मिक पर्यटनको प्रवर्द्धन र निजी क्षेत्रबीचको सहकार्यलाई भ्रमणको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दिल्ली, मुम्बई, बेङ्गलुरु, लखनउ र बनारसजस्ता भारतीय सहरसँग सिधा हवाई सम्पर्क स्थापना गर्नुपर्ने बताए।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रस्तावित अयोध्या-जनकपुर रेल सेवा सञ्चालन, हिन्दु सर्किट र रामायण सर्किटजस्ता योजना कार्यान्वयनमा प्रधानमन्त्री तहबाटै पहल हुनुपर्ने हानको माग छ। यसका अतिरिक्त खेलकुद पर्यटन, व्यावसायिक बैठक (माइस) र डेस्टिनेसन वेडिङलाई पनि भारतीय पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा अघि सारिएको छ।
अध्यक्ष शाहले भने, ‘भारतबाट वार्षिक तीन लाखको हाराहारीमा आइरहेका पर्यटकको सङ्ख्या सन् २०२८ सम्म दोब्बर बनाएर ६ लाख पुर्याउने निजी क्षेत्रको लक्ष्य छ। यसका लागि हवाई कनेक्टिभिटी, सीमावर्ती सहरसँगको सिधा सम्पर्क र पुराना सहमतिको कार्यान्वयनमा प्रधानमन्त्री तहबाटै राजनीतिक तथा नीतिगत निर्णय हुनुपर्छ।’
हानले भारतीय सरकारी कर्मचारीहरूका लागि लिभ ट्राभल अलाउन्स (एलटीए) सुविधामा नेपाल भ्रमण गर्न पाउने व्यवस्थाका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई सुझाएको छ। यी विषयहरूलाई आर्थिक कूटनीतिको प्रमुख एजेन्डा बनाउन सके नेपालले पर्यटनमार्फत ठूलो आर्थिक लाभ लिन सक्ने हानको विश्वास छ।
