काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडक खण्डको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द रहने जनाएको हो।
प्रशासनका अनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म उक्त सडक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
सडक माथिबाट निरन्तर ढुंगा तथा माटो खस्ने क्रम जारी रहेकाले उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ। सम्भावित दुर्घटना न्यूनीकरण गर्दै सडकलाई सुरक्षित बनाउने उद्देश्यले जोखिमयुक्त पहाडको माथिल्लो भाग काट्ने काम गर्न लागिएको प्रशासनले जनाएको छ।
उक्त कार्य सुरक्षित रूपमा सम्पन्न गर्न सवारी आवागमन रोक्नुपर्ने भएकाले यात्रु तथा सवारी चालकलाई निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न आग्रह गरिएको छ।
सडक बन्द हुने अवधिमा यात्रा गर्नेहरूले सम्भावित जाम र ढिलाइलाई मध्यनजर गर्दै आफ्नो यात्रा योजना बनाउनुपर्ने देखिन्छ।
