काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक सुधारका लागि पुराना र असान्दर्भिक कानुनहरू खारेज गर्न सरकार अघि बढेको बताएकी छन्।
प्रतिनिधिसभाको अर्थ समितिमा सोमबार भएको छलफलमा मन्त्री गौतमले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन ‘आर्थिक सुधारको मार्गचित्र, २०८१’ को सिफारिसअनुसार सरकारले कानुन संशोधन प्रक्रिया अगाडि बढाएको जानकारी दिइन्।
नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत बढाउने र नियन्त्रणमुखी प्रकृतिका कानुनहरू खारेज गर्ने सरकारको नीति रहेको छ। यसका लागि अर्थ मन्त्रालयसँग सम्बन्धित पाँचवटा ऐन र एक नियमावली खारेज गर्न प्रस्ताव गरिएको छ। खारेज हुने कानुनहरूमा प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, २०७३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, हवाई टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ र सोही नियमावली, २०७० तथा वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ रहेका छन्।
त्यस्तै, मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ मा संशोधन प्रस्ताव गरिएको छ। राजस्व चुहावट ऐन खारेज भएपछि त्यसको प्रभाव व्यवस्थापन गर्न मूल्य अभिवृद्धि कर ऐनमा व्यावसायिक मालसामान ढुवानीको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्ने र ढुवानीका साधनमा जीपीएस जडान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। नियम उल्लंघन गरेमा पहिलो पटक ५० हजार र त्यसपछिको प्रत्येक पटक एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ।
आयकर ऐनमा संशोधनमार्फत गैरकर राजस्व नबुझाएमा महानिर्देशकबाट छानबिन गर्न सक्ने र शतप्रतिशत जरिवाना गर्न सकिने प्रावधान राखिएको छ। साथै, भन्सार ऐन संशोधनमार्फत भन्सार प्रशासनको अधिकार विस्तार गर्दै जाँचपास भइसकेका वस्तुको पुनः जाँच र चोरी निकासी नियन्त्रणका लागि थप अधिकार दिने प्रस्ताव गरिएको छ। राजस्व अनुसन्धान विभागमा रहेका पुराना मुद्दा तथा अभिलेखहरू सम्बन्धित निकायमा हस्तान्तरण गर्ने व्यवस्थासमेत विधेयकमा समेटिएको मन्त्री गौतमले स्पष्ट पारिन्।
