काठमाडौँ- जेन जी प्रदर्शनको दोस्रो दिन मङ्गलबार आगजनी गरिएका दर्जनौँ व्यावसायिक प्रतिष्ठान बुधबार दिनभर पनि जलिरहे । खास गरी राजधानीसहित देशका मुख्य सहरमा रहेका भाटभटेनी स्टोरका आउटलेट बुधबार पनि जलिरहेका छन् ।
भाटभटेनीका दर्जन आउटलेटमा आगजनी मात्र भए पनि त्यसअघि तोडफोड र ठुलो मात्रामा लुटपाटसमेत भएको थियो । आटलेट परिसरमा रहेका एटिएम बुथबाट पैसा निकाल्ने प्रयास गरिरहेका भिडियो सामाजिक सञ्जालभर छाइरहे ।
मङ्गबार दिउँसोदेखि नै आगजनीमा परेको पाँचतारे होटेल हिल्टन बुधबार अबेरसम्म पनि आगलागी भइरहेकै अवस्थामा छ । थापाथलीस्थित कारका सोरुमहरू भने मङ्गलबार नै आगलागीबाट पूर्ण क्षतविक्षत अवस्थामा थिए । यसबाहेक मङ्गलबार राति राजधानीका धेरै पसल लुटपाटका सिकार बने जसमा सुन पसलदेखि इलेक्ट्रोनिक्स सोरुम र किराना पसलसम्म परे ।
व्यावसायिक प्रतिष्ठान जलिरहँदा त्यसको भौतिक क्षति अर्बौं हुन पुग्यो त्यससँगै हजारौँ रोजगारी पनि प्रभावित हुन पुग्यो । आन्तरिक रोजगारीमा समस्याका कारण लाखौँ नेपाली बाहिरिनुपर्ने बाध्यतालाई निजी क्षेत्रले कम गर्न भूमिका खेले पनि हिजोको आगजनीका कारण धेरै व्यक्ति बेरोजगार बन्नुपर्ने अवस्था आएको छ । समाचार तयार गर्दासम्म भाटभटेनी सुपरस्टोरका देशभरका कम्तीमा १२ वटा आउटलेटमा आगजनी र लुटपाट हुँदा दुई हजारभन्दा बढीको रोजगारी प्रभावित भएको देखिन्छ । पाँचतारे होटेल हिल्टनमा भएको आगजनीले दुई सयभन्दा बढीको रोजगारी खोसिन पुगेको छ । यसबाहेक देशभरका व्यावसायिक प्रतिष्ठानमा भएको आगजनीले सयौँको सङ्ख्यामा आन्तरिक रोजगारी गुमेको अनौपचारिक तथ्याङ्क आइरहेका छन् ।
ठुलो क्षति भएको र तत्काल लगानी गरेर पुनस्र्थापित गर्ने परिस्थिति नभएका कारण गुमेको रोजगारी तत्काल पाउने स्थिति देखिएको छैन । निजी क्षेत्रमा लगानीको आत्मबल कमजोर भएकाले पुनः यस किसिमको व्यापारिक गतिविधिमा उनीहरूको संलग्नता नै अन्योलमा भएकाले अहिले रोजगारी गुमेकाले लामो समयसम्म रोजगारीका लागि पर्खिनुपर्ने अवस्था बनेको छ ।
यसबाहेक विकसित परिस्थितिका कारण विदेशी लगानीसमेत आउन सक्ने वातावरण तत्काल नभएकाले नयाँ रोजगारी सिर्जना हुने अवसर पनि साँघुरिएको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशत छ । निजी क्षेत्रले सरकारले भन्दा धेरै रोजगारी दिएको अवस्था थियो ।