काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ३९१ खर्ब ७० करोड बराबरको तरलता प्रशोचन गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ३३ खर्ब २९ अर्ब, स्थायी निक्षेप सुविधामार्फत ३५५ खर्ब ८४ अर्ब २० करोड र नेपाल राष्ट्र बैङ्क ऋणपत्रमार्फत दुई सय अर्ब गरी कुल ३९१ खर्ब १३ अर्ब २० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
यस्तै ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुद ३९१ खर्ब ७० करोड बराबरको तरलता प्रशोचन गरिएको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक पटक गरी खुद २१३ खर्ब ४० अर्ब ६० करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर सात अर्ब चार करोड खुद खरिद गरी १० खर्ब २६ अर्ब तीन करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर पाँच अर्ब खुद खरिद गरी छ खर्ब ७३ अर्ब २५ करोड तरलता प्रवाह गरेको थियो । समीक्षा अवधिमा अमेरिकी डलर चार अर्ब २८ करोड बिक्री गरी छ खर्ब २५ अर्ब ५० करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ४६ करोड बिक्री गरी चार खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।
घट्यो अन्तरबैङ्क कारोबार
आव २०८२/८३ को ११ महिनामा वाणिज्य बैङ्कको आठ खर्ब ९३ अर्ब ४१ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैङ्कबिच बाहेक) को एक खर्ब ४६ अर्ब ३५ करोड गरी कुल १० खर्ब ३९ अर्ब ७६ करोडको अन्तरबैङ्क कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाको एक खर्ब ५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोडको अन्तरबैङ्क कारोबार भएको थियो ।
