Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

सट्टेबाजीको नयाँ गन्तव्य ठूला कम्पनी, पुँजी बजारको खेल बदलिँदै !

अ+ अ-

काठमाडौं – नेपालको पुँजी बजारमा वर्षौंदेखि कम चुक्ता पुँजी, कम आपूर्ति र सीमित कारोबार भएका कम्पनीका सेयर सट्टेबाजीको मुख्य केन्द्र बने। तर अब त्यो प्रवृत्ति फेरिने अवस्था देखिएको छ। धितोपत्र बोर्ड (सेबोन)ले सर्ट सेलिङ र इन्ट्रा-डे कारोबार लागू गर्ने तयारी अघि बढाएसँगै छोटो अवधिको कारोबार क्रमशः उच्च तरलता भएका ठूला कम्पनीतर्फ केन्द्रित हुने अवस्था बन्दै गएको छ। यसले सट्टेबाजी हराउने होइन, यसको केन्द्र र स्वरूप दुवै परिवर्तन गर्ने देखिएको छ।

साना कम्पनीबाट ठूला कम्पनीतर्फ सर्दै कारोबार

अहिलेसम्म नेपाली सेयर बजारमा सट्टेबाजी कारोबार मुख्यतः कम चुक्ता पुँजी भएका, सीमित ‘फ्री–फ्लोट’ रहेका वा भर्खरै सूचीकृत कम्पनीमा केन्द्रित हुँदै आएको छ। यस्ता कम्पनीमा बजारमा उपलब्ध सेयर संख्या कम हुने भएकाले थोरै खरिद–बिक्रीले पनि मूल्यमा ठूलो उतारचढाव आउँछ। यही अवस्थाले छोटो अवधिमा नाफा कमाउने उद्देश्यले हुने सट्टेबाजीलाई सहज बनाउँदै आएको थियो।

तर सेबोनले पुँजी बजारलाई आधुनिक कारोबार प्रणालीतर्फ लैजाने तयारी गरिरहेका बेला यो अवस्था परिवर्तन हुने संकेत देखिएको छ। बोर्डले सर्ट सेलिङ र इन्ट्रा-डे कारोबारको अवधारणालाई कार्यान्वयनतर्फ अघि बढाइरहेको छ। यी दुवै प्रणाली लागू भएपछि पर्याप्त तरलता भएका, नियमित कारोबार हुने र बजार पुँजीकरण उच्च भएका कम्पनी नै कारोबारको मुख्य केन्द्र बन्ने अपेक्षा गरिएको छ।

यसको अर्थ अब सट्टेबाजी हराउने होइन, बरु अहिले साना कम्पनीमा केन्द्रित रहेको छोटो अवधिको कारोबार क्रमशः बैंक, वित्तीय संस्था, बीमा, जलविद्युत् तथा अन्य ठूला सूचीकृत कम्पनीतर्फ सर्ने सम्भावना बलियो बन्दै गएको हो।

सर्ट सेलिङ र इन्ट्रा–डेले किन बदल्छ बजारको प्रवृत्ति

सर्ट सेलिङ लागू भएपछि लगानीकर्ताले आफूसँग रहेको वा सापटी लिएको सेयर मूल्य घट्ने अनुमानका आधारमा बिक्री गरी पछि कम मूल्यमा खरिद गरेर नाफा लिन सक्ने व्यवस्था हुनेछ। अहिले नेपाली बजारमा मूल्य बढ्दा मात्र नाफा कमाउने अवसर छ। नयाँ प्रणालीले मूल्य घट्दा पनि कारोबारको अवसर दिनेछ।

यस्तो कारोबारका लागि पर्याप्त तरलता भएको सेयर अनिवार्य हुन्छ। दैनिक कारोबार न्यून हुने वा बजारमा उपलब्ध सेयर नै सीमित भएको कम्पनीमा सर्ट सेलिङ व्यावहारिक हुँदैन। त्यसैले यो सुविधा मुख्यतः उच्च कारोबार हुने कम्पनीमा केन्द्रित हुने देखिन्छ।

यस्तै, इन्ट्रा-डे कारोबार लागू भएपछि एउटै कारोबार दिनभित्र सेयर किन्ने र बेच्ने सुविधा उपलब्ध हुनेछ। विश्वका धेरै विकसित बजारमा लोकप्रिय रहेको यो प्रणाली प्रभावकारी हुन पनि पर्याप्त कारोबार हुने सेयर आवश्यक पर्छ। त्यसैले दैनिक कारोबारको ठूलो हिस्सा पनि सीमित संख्याका गुणस्तरीय कम्पनीमा केन्द्रित हुने अनुमान गरिएको छ।

बजार विश्लेषकहरूका अनुसार यी दुई व्यवस्थाले मूल्य निर्धारण प्रक्रिया थप प्रभावकारी बनाउने, तरलता बढाउने र संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने सम्भावना छ। साथै बजारमा कारोबारको गुणस्तर पनि सुधारिने अपेक्षा गरिएको छ।

योग्य कम्पनीका लागि कडा मापदण्ड

सेबोनले सार्वजनिक गरेको अवधारणापत्रअनुसार सर्ट सेलिङ सबै कम्पनीमा लागू हुने छैन। योग्य सेयर छनोटका लागि स्पष्ट मापदण्ड निर्धारण गरिनेछ।

बोर्डका अनुसार स्थिर कारोबार इतिहास भएका, पर्याप्त तरलता भएका, निश्चित स्तरको बजार पुँजीकरण पुगेका, पर्याप्त ‘फ्री–फ्लोट’ भएका तथा नियामकीय दायित्व नियमित रूपमा पालना गरेका कम्पनी मात्रै यस्तो कारोबारका लागि योग्य हुनेछन्।

यसअघि बोर्डले सर्ट सेलिङ कार्यान्वयनअघि मार्जिन कारोबार, धितोपत्र सापटी उधारो कारोबारको कानुनी व्यवस्था तथा आवश्यक प्राविधिक पूर्वाधार तयार गरिने जनाएको छ। इन्ट्रा-डे कारोबारका लागि पनि जोखिम व्यवस्थापन, क्लियरिङ प्रणाली र कारोबार सफ्टवेयरमा आवश्यक सुधार गर्ने तयारी भइरहेको छ।

हाल बैंक तथा वित्तीय संस्था, ठूला जलविद्युत् कम्पनी, बीमा कम्पनी तथा केही उत्पादनमूलक कम्पनीमा मार्जिन सुविधा उपलब्ध रहेकाले प्रारम्भिक चरणमै यिनै कम्पनीहरू नयाँ कारोबार प्रणालीको मुख्य लाभग्राही बन्न सक्ने देखिन्छ।

बजारको केन्द्र फेरिँदै

नयाँ प्रणाली लागू भएपछि नेपाली पुँजी बजारमा कारोबारको केन्द्र नै परिवर्तन हुने संकेत देखिएको छ। अहिले साना कम्पनीको सीमित आपूर्तिले मूल्यमा ठूलो उतारचढाव ल्याएर सट्टेबाजीलाई आकर्षित गरिरहेको छ। तर सर्ट सेलिङ र इन्ट्रा-डे लागू भएपछि त्यही पूँजी र छोटो अवधिका कारोबारी क्रमशः उच्च तरलता भएका ठूला कम्पनीतर्फ आकर्षित हुने सम्भावना बढेको छ।

यसले बजारमा मूल्य निर्धारणलाई थप प्रतिस्पर्धी बनाउने, तरलता बढाउने र ठूला कम्पनीमा संस्थागत लगानी अझ विस्तार गर्ने अपेक्षा गरिएको छ। त्यससँगै सट्टेबाजीको स्वरूप पनि बदलिनेछ। अब खेल साना कम्पनीको सीमित आपूर्तिमा होइन, ठूलो बजार पुँजीकरण, उच्च तरलता र तीव्र कारोबार हुने कम्पनीमा केन्द्रित हुने संकेत पुँजी बजारले देखाउन थालेको छ।

सर्ट सेलिङका लागि प्रस्तावित योग्य सेयरका मापदण्ड

मापदण्ड                    आवश्यकता
कारोबारको इतिहास             निश्चित अवधिदेखि नियमित कारोबार भएको
तरलता             दैनिक पर्याप्त कारोबार हुने
बजार पुँजीकरण             बोर्डले तोकेको न्यूनतम सीमा पुगेको
फ्री–फ्लोट             बजारमा पर्याप्त सेयर उपलब्ध
नियम परिपालन             नियामकीय दायित्व नियमित रूपमा पूरा गरेको

2