काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवमा आर्जन गरेको तुलनामा ४.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले ५ अर्ब २७ करोड रुपैयाँबराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७.४५ प्रतिशतले बढी हो ।
बैंकले यो अवधिसम्म ९ अर्ब १९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब ५३ करोडबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
१३ अर्ब ७२ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंकको रिजर्भमा १३ अर्ब ८६ करोड सञ्चित रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप ३ खर्ब १६ अर्ब तथा कुल कर्जा प्रवाह २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको निक्षेप २ खर्ब ९८ अर्ब तथा कुल कर्जा २ खर्ब १३ अर्बमा सीमित रहेको थियो ।
समीक्षा अवधिमा बैंकको ईपीएस ३६.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ, पीई रेसियो १८.८१ गुणा र तरलता अनुृपात ३१.९१ प्रतिशत कायम भएको छ ।
बैंकको निस्क्रिय कर्जा केही बढेको छ । जसअनुसार अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर ०.४९ प्रतिशत पुगेको छ ।
