काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी ऋषिराज मोरसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।
बिहीबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मोरसँग १ करोड रुपैयाँ नगद धरौटी वा सोबराबरको बैंक जमानत लिएर तारिखमा रिहा गर्न आदेश दिएको हो।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आरोपपत्रअनुसार मोरले दीपक भट्टलगायत अन्य प्रतिवादीसँग मिलेमतो गरी हिमालयन रिइन्स्योरेन्सको रकम दुरुपयोग गर्दै व्यक्तिगत नाममा सेयर खरिद गरेको र पछि ती सेयर पुनः कम्पनीलाई नै बिक्री गरेको आरोप छ। यस क्रममा भृकुटी स्टक ब्रोकिङ कम्पनीसँगको मिलेमतोमा धितोपत्र बजार प्रभावित पार्दै सम्पत्ति शुद्धीकरण गरेको अभियोग पनि लगाइएको छ।
अदालतले प्रमाण परीक्षणको अन्तिम निष्कर्ष नआएसम्म मोरसँग १ करोड रुपैयाँ धरौटी वा सोबराबरको बैंक जमानत लिएर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको छ।
