काठमाडौँ। भारतको सहयोगमा नेपालमा सञ्चालन तथा सम्पन्न गरिएका उच्च प्रभाव सामुदायिक विकास परियोजनाले शिक्षा, स्वास्थ्य, सडक तथा पुल, कृषि, विद्युतीकरण, खानेपानीलगायतका क्षेत्रमा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।
नेपाल सरकारले पहिचान गरेका प्राथमिकता क्षेत्रहरूमा केन्द्रित यी परियोजनाहरू नेपालका विभिन्न प्रदेश र जिल्लामा कार्यान्वयन भएका छन्। उपलब्ध विवरणअनुसार क्षेत्रगत रूपमा ४७० वटा परियोजना सञ्चालन भएका छन्।
शिक्षा क्षेत्रमा सबैभन्दा धेरै ३०९ परियोजना कार्यान्वयन भएका छन्। सातै प्रदेशका ७१ जिल्लामा करिब ८६८ करोड रुपैयाँ बराबरको लागतमा शैक्षिक पूर्वाधार निर्माण गरिएको छ। यसमध्ये मात्रै करिब ६५६ करोड रुपैयाँ बराबरको लागतमा २२२ वटा विद्यालय निर्माण भएका छन्।
स्वास्थ्य क्षेत्रमा सातै प्रदेशका ३३ जिल्लामा ६२ परियोजना सञ्चालन भएका छन्। यी परियोजनामा करिब २७५ करोड रुपैयाँ लगानी भएको छ।
सडक तथा पुलतर्फ ६ प्रदेशका १५ जिल्लामा २५ परियोजना कार्यान्वयन भएका छन्। करिब ६५ करोड रुपैयाँ लागतमा २० वटा सडक र पाँचवटा पुल निर्माण गरिएको छ।
संस्कृति क्षेत्रतर्फ ६ प्रदेशका ११ जिल्लामा २० परियोजना सञ्चालन भएका छन्, जसमा करिब ६५ करोड रुपैयाँ बराबरको लागतमा सांस्कृतिक पूर्वाधार निर्माण गरिएको छ।
त्यस्तै, विद्युतीकरणतर्फ ६ प्रदेशका १२ जिल्लामा १३ परियोजना सञ्चालन भएका छन्। यी परियोजनामा करिब ३१ करोड रुपैयाँ खर्च भएको छ।
कृषि क्षेत्रमा ६ प्रदेशका १४ जिल्लामा १५ परियोजना कार्यान्वयन भएका छन्। करिब ७३ करोड रुपैयाँ लागतमा कृषि पूर्वाधार निर्माण गरिएको छ। खानेपानीतर्फ चार प्रदेशका आठ जिल्लामा आठ परियोजना सञ्चालन भएका छन्। यी परियोजनाको कुल लागत करिब १६ करोड रुपैयाँ रहेको छ।
नदी नियन्त्रण तथा व्यवस्थापनअन्तर्गत पाँच प्रदेशका आठ जिल्लामा नौ परियोजना सञ्चालन भएका छन्। करिब २९ करोड रुपैयाँ लागतमा नदी प्रशिक्षणसम्बन्धी पूर्वाधार निर्माण गरिएको छ। सिँचाइ क्षेत्रमा दुई प्रदेशका चार जिल्लामा चार परियोजना सञ्चालन भएका छन्। यी परियोजनामा करिब ७ करोड रुपैयाँ लागत रहेको छ।
भारत–नेपाल विकास साझेदारीअन्तर्गतका यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा तथा भौतिक पूर्वाधारको पहुँच विस्तार गर्न योगदान पुर्याउँदै आएका छन्। परियोजनाहरू नेपाल सरकारले पहिचान गरेका प्राथमिकता क्षेत्रअनुसार कार्यान्वयन हुँदै आएका छन्।
