काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा ५.३८ प्रतिशत घटेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले २ अर्ब ८५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा ३ अर्ब १ करोड २५ लाख रुपैयाँ थियो।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको गिरावटले नाफामा दबाब परेको देखिएको छ। गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ११.६२ प्रतिशत घटेर ३ अर्ब ९४ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ४६ करोड २२ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी भने बढेर १ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३६ करोड २३ लाख रुपैयाँ थियो।
यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ४० करोड ७५ लाख रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ६ अर्ब ५७ करोड ४७ लाख तथा सञ्चालन नाफा ४ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.०४ प्रतिशत रहेको छ।
१० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ७१ करोड ९० लाख रुपैयाँ सञ्चित छ।
बैंकले गत असारसम्म निक्षेप संकलन १७.८२ प्रतिशतले बढाएर १ खर्ब ४७ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ। तर, कर्जा लगानी भने ९.४१ प्रतिशत घटेर ६६ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ।
अघिल्लो वर्ष बैंकको निक्षेप १ खर्ब २५ अर्ब ३३ करोड र कर्जा लगानी ७२ अर्ब ८९ करोड रुपैयाँ थियो। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ४७.२४ प्रतिशत कायम छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ३० रुपैयाँबाट घटेर २८.३८ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ २२५.८ रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात २३.५ गुणा रहेको छ।
यसैबीच, बैंकको खराब कर्जा (एनपीएल) बढेको छ। अघिल्लो वर्ष १.४१ प्रतिशत रहेको खराब कर्जा गत असारसम्म बढेर २.०३ प्रतिशत पुगेको छ।
पूँजी पर्याप्तताका सूचक भने बलियो देखिएका छन्। बैंकको टायर–वान क्यापिटल एडिक्वेसी रेसियो अघिल्लो वर्षको १५.७५ प्रतिशतबाट बढेर १६.६८ प्रतिशत पुगेको छ। समग्र क्यापिटल एडिक्वेसी रेसियो १८.१३ प्रतिशत कायम रहेको छ।
