काठमाडौं। लक्ष्मी सनराइज बैंकको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा २३.२६ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँमा झरेको छ।
अघिल्लो वर्ष बैंकले ४ अर्ब ६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो। नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) १६.६८ रुपैयाँबाट ११.६४ रुपैयाँमा घटेको छ।
नाफामा गिरावटको मुख्य कारण खराब कर्जा र प्रोभिजनिङमा भएको तीव्र वृद्धि हो। बैंकको निष्क्रिय कर्जा अनुपात ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ। यसका लागि बैंकले ३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जुन अघिल्लो वर्षको १ अर्ब २५ करोड ८० लाख रुपैयाँभन्दा निकै बढी हो।
यद्यपि बैंकको मुख्य आम्दानीमा सुधार देखिएको छ। खुद ब्याज आम्दानी १० अर्ब ८५ करोडबाट बढेर ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। तर कर्मचारी खर्च ४ अर्ब ९१ करोडबाट बढेर ५ अर्ब ३८ करोड र अन्य सञ्चालन खर्च १ अर्ब ३८ करोडबाट १ अर्ब ५१ करोड रुपैयाँ पुगेपछि नाफामा थप दबाब परेको छ।
व्यवसाय विस्तार बलियो, लाभांश क्षमता कमजोर
नाफा घटे पनि बैंकको व्यवसाय विस्तार भने बलियो छ। निक्षेप १५.६२ प्रतिशतले बढेर ४ खर्ब २४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। कर्जा लगानी ११.४८ प्रतिशतले बढेर ३ खर्ब ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात ७४.७७ प्रतिशत छ।
तर सेयरधनीका लागि लाभांशको अवस्था कमजोर बनेको छ। नियामकीय समायोजनपछि वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। यसअनुसार लाभांश क्षमता ६.७९ प्रतिशतमा झरेको छ, जबकि अघिल्लो वर्ष १२.१८ प्रतिशत थियो।
बैंकको खुद निष्क्रिय कर्जा १.०७ प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ। पुँजीकोष अनुपात १२.०३ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.९० प्रतिशत छ।
तरलता सहज भएपछि आधार दर ६.५० प्रतिशतबाट घटेर ५.०५ प्रतिशत र स्प्रेड दर ३.५१ प्रतिशतबाट घटेर ३.२२ प्रतिशत कायम भएको छ।
बैंकको निक्षेप र कर्जा विस्तार भइरहे पनि बढ्दो खराब कर्जा, उच्च प्रोभिजनिङ र सञ्चालन खर्चले नाफा तथा लाभांश क्षमतामा स्पष्ट दबाब सिर्जना गरेको छ।
