काठमाडौं। काठमाडौंमा शनिबार विभिन्न सात वितरण केन्द्रबाट ५ हजार ९७२ थान ग्यास सिलिन्डर बिक्री भएको छ। घरनजिकका डिलरमा ग्यास नपाएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लामो लाइनमा बसेका थिए।
नेपाल आयल निगम र काठमाडौं जिल्ला प्रशासन कार्यालयको समन्वयमा टेकु, चाबहिल, बबरमहल, बसुन्धरा र कीर्तिपुरको राधास्वामी परिसरबाट ग्यास वितरण गरिएको हो।
निगमका अनुसार टेकुबाट सबैभन्दा धेरै २ हजार २९०, बबरमहलबाट १ हजार ६००, कीर्तिपुरबाट ७६२, चाबहिलबाट ७२० र बसुन्धराबाट ६०० सिलिन्डर बिक्री भएको छ। बालाजुस्थित नेपाल ग्यास डिपोबाट थप ५०० र काँडाघारीस्थित एसटिसी ग्यास डिपोबाट ३३० सिलिन्डर बिक्री भएको छ।
विभिन्न १४ ब्रान्डका ग्यास वितरण गरिए पनि मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले सास्ती खेपिरहेका छन्। शनिबार दिउँसो परेको भारी वर्षाका बीच पनि उपभोक्ता घण्टौँ लाइनमा बसेर ग्यास लिन बाध्य भएका थिए।
आयल निगमले आपूर्ति सहज बनाउन वैकल्पिक वितरण केन्द्रमार्फत ग्यास बिक्री बढाएको जनाएको छ।
