काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा चार वाणिज्य बैंकको वितरणयोग्य नाफा ३६ अर्ब १० करोड रुपैयाँभन्दा बढीले ऋणात्मक देखिएको छ।
बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) वितरणयोग्य नाफाका आधारमा लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन्।
यी चार बैंकको कुल वितरणयोग्य नाफा ३६ अर्ब १० करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। सबैभन्दा कमजोर अवस्था एनआईसी एसिया बैंकको देखिएको छ। बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ। अघिल्लो आर्थिक वर्षमा पनि बैंकको वितरणयोग्य नाफा १० अर्ब ६७ करोड ८१ लाख रुपैयाँ ऋणात्मक थियो।
त्यस्तै, हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ। प्रभु बैंकको ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ र एनआईएमबीको ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ।
१६ बैंकको वितरणयोग्य नाफा सकारात्मक
समीक्षा अवधिमा १६ वाणिज्य बैंकको वितरणयोग्य नाफा सकारात्मक रहेको छ। तीमध्ये एभरेष्ट बैंक सबैभन्दा अगाडि छ। बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ पुगेको छ।
नबिल बैंकले ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकले ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन्।
सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख ३० हजार रुपैयाँ र सानिमा बैंकको २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ। नेपाल बैंकको २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ वितरणयोग्य नाफा छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ, प्राइम बैंकको १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकको १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको छ।
एनएमबी बैंकले १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ वितरणयोग्य नाफा कायम गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ। माछापुच्छ्रे बैंकको ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ, कुमारी बैंकको ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ र सिटिजन्स बैंकको ५२ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ।
एभरेष्टको लाभांश क्षमता सबैभन्दा उच्च
नाफामा सुधारसँगै गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत पुगेको छ। तर, चार बैंक भने वितरणयोग्य नाफा ऋणात्मक रहेकाले लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन्।
लाभांश क्षमता सबैभन्दा बढी एभरेष्ट बैंकको ३८.३२ प्रतिशत रहेको छ। त्यसपछि सिद्धार्थ बैंकको २६.१५ प्रतिशत र सानिमा बैंकको २०.८५ प्रतिशत छ।
नबिल बैंकको लाभांश क्षमता १९.१० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.०४ प्रतिशत रहेको छ। नेपाल बैंकको १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकको ११.०४ प्रतिशत लाभांश क्षमता छ।
त्यस्तै, प्राइम बैंकको ९.१० प्रतिशत, एनएमबी बैंकको ९.०८ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत र कृषि विकास बैंकको ६.५४ प्रतिशत लाभांश क्षमता रहेको छ।
सिटिजन्स बैंकको लाभांश क्षमता ३.३७ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशतमा सीमित छ।
बैंकिङ क्षेत्रको नाफा सुधारिए पनि चार ठूला वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहनुले सबै बैंकको नाफा समान रूपमा लाभांश वितरणयोग्य अवस्थामा रूपान्तरण हुन नसकेको देखाएको छ। अपरिष्कृत वित्तीय विवरणका आधारमा देखिएको यो तथ्यले बैंकहरूको वास्तविक लाभांश क्षमता तथा पुँजी व्यवस्थापनबीचको अन्तरसमेत उजागर गरेको छ।
