बेइजिङ। गर्मी बढेसँगै चीनमा पछिल्लो समय ‘एसी स्वतन्त्रता’ भन्ने शब्द लोकप्रिय बन्दै गएको छ । घर वा कार्यालयभित्र प्रवेश गरेपछि रिमोट थिचेर तत्काल चिसो हावा लिन सकिने सहजतालाई चिनियाँ समाजमा यसरी व्याख्या गर्न थालिएको हो ।
तर यो सुविधा केवल आधुनिक वातानुकूलित उपकरणको उपलब्धतासँग मात्र जोडिएको छैन । यसको पछाडि भरपर्दो विद्युत् आपूर्ति र ठूलो तथा व्यवस्थित ऊर्जा प्रणाली रहेको छ । चीनले पछिल्ला वर्षमा विद्युत् उत्पादन, प्रसारण र वितरण पूर्वाधार विस्तार गरेकाले बढ्दो गर्मीका बीच घरायसी तथा औद्योगिक विद्युत् माग धान्न सकेको हो ।
यसै क्रममा अगस्ट ७ मा चीनको अधिकतम विद्युत् माग नयाँ कीर्तिमानमा पुगेको छ । त्यस दिन देशको उच्चतम विद्युत् भार १ अर्ब ५६ करोड किलोवाट पुगेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
चीनको विद्युत् प्रणालीमा विभिन्न स्रोतबाट उत्पादन हुने ऊर्जा र अन्तरक्षेत्रीय प्रसारण सञ्जाललाई जोडिएको छ । यसले गर्मीका बेला एयर कन्डिसनर, उद्योग तथा अन्य विद्युतीय उपकरणको माग बढ्दा पनि विभिन्न क्षेत्रमा आवश्यकताअनुसार विद्युत् आपूर्ति गर्न सहयोग पुर्याएको छ ।
चीनले ११ वर्षअघि नै देशका सबै घरधुरीमा विद्युत् पहुँच पुर्याउने लक्ष्य हासिल गरिसकेको थियो । मे २०२६ सम्म चीनको कुल स्थापित विद्युत् उत्पादन क्षमता ४.०१ अर्ब किलोवाट पुगेको छ, जुन विश्वकै सबैभन्दा ठूलो हो ।
ऊर्जा उत्पादनको विस्तारसँगै चीनले नवीकरणीय ऊर्जाको हिस्सा पनि बढाउँदै गएको छ । मरुभूमिमा विशाल सौर्य ऊर्जा आयोजना निर्माण भइरहेका छन् भने ठूला नदीमा जलविद्युत् आयोजना र विभिन्न क्षेत्रमा पवन ऊर्जा परियोजना विस्तार भइरहेका छन् । उत्पादित विद्युत् देशका विभिन्न भागमा पुर्याउन हजारौँ किलोमिटर लामो अल्ट्रा–हाइ भोल्टेज प्रसारण सञ्जालसमेत निर्माण गरिएको छ ।
हाल चीनको कुल स्थापित विद्युत् उत्पादन क्षमतामध्ये करिब ६२ प्रतिशत गैरजीवाश्म ऊर्जामा आधारित रहेको बताइएको छ । यसले एयर कन्डिसनरलगायत बढ्दो विद्युतीय माग पूरा गर्न स्वच्छ ऊर्जाको योगदानसमेत बढाउँदै लगेको देखाउँछ ।
यसरी चीनमा गर्मीबाट राहत दिने ‘एसी स्वतन्त्रता’ केवल व्यक्तिगत सुविधाको विषय नभई भरपर्दो विद्युत् पूर्वाधार, ऊर्जा सुरक्षासँगै हरित रूपान्तरणको परिणामका रूपमा समेत अघि आएको छ । चीनले आर्थिक विकाससँगै जनताको जीवनस्तर सुधार र कम कार्बनयुक्त ऊर्जा प्रणाली निर्माणलाई समानान्तर रूपमा अघि बढाइरहेको छ ।
