काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एडीबीएल स्मार्ट प्लस’मा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रम समावेश गरेको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र कर अनुपालन बढाउने उद्देश्यले बैंकले एपमा उक्त सुविधा थपेको जनाएको छ ।
नेपाल सरकार तथा आन्तरिक राजस्व विभागद्वारा सञ्चालित कार्यक्रममा १०० रुपैयाँभन्दा बढीको क्यूआर भुक्तानी गर्ने ग्राहक सहभागी हुन सक्नेछन् । योग्य ग्राहकले दैनिक १ लाख रुपैयाँसम्म र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।
कार्यक्रममा सहभागी हुन ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत मर्चेन्ट क्यूआरबाट भुक्तानी गर्नुपर्नेछ ।
भुक्तानी गरेपछि सम्बन्धित प्यान वा भ्याट बिल लिएर सुरक्षित राख्नुपर्ने बैंकले जनाएको छ ।
आन्तरिक राजस्व विभागले तोकेको व्यवस्थाअनुसार योग्य डिजिटल कारोबार स्वतः भाग्यशाली छनोट प्रक्रियामा सहभागी हुनेछन् । दैनिक पुरस्कारका रूपमा एक जना ग्राहकले कर कट्टीपछि १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन् ।
कृषि विकास बैंकले ‘एडीबीएल स्मार्ट प्लस’मा छुट्टै ‘आईआरडी इन्सेन्टिभ प्रोग्राम’ मेनु पनि थपेको छ । यसबाट ग्राहकले आफूले गरेका योग्य कारोबारको संख्या, विवरण तथा कारोबारको इतिहास हेर्न सक्नेछन् ।
त्यसैगरी, पुरस्कारको अवस्था र भाग्यशाली छनोटको नतिजासमेत एपबाटै हेर्न सकिने बैंकले जनाएको छ ।
बैंकले ग्राहकलाई मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, प्यान वा भ्याट बिल लिन र एपमार्फत आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
यस कार्यक्रमले डिजिटल कारोबार विस्तार, नगदरहित अर्थतन्त्र निर्माण तथा वित्तीय पारदर्शिता बढाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
