काठमाडौं। विद्युत् उत्पादन सुरु गरेको चार वर्षसम्म लगातार घाटामा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना चालु आर्थिक वर्षमा नाफामा जाने अवस्थामा पुगेको छ।
माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णगोपाल रञ्जितका अनुसार विद्युत्गृह सञ्चालनमा सुधार, हाइड्रोलोजी पेनाल्टी घट्नु र दीर्घकालीन ऋणको ब्याजदर घटाउन सफल भएपछि कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको हो। कम्पनीले चालु आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँ नाफा गर्ने अपेक्षा गरेको उनले बताए।
पछिल्लो समय विद्युत् उत्पादन तथा बिक्रीबाट आम्दानी बढ्नुका साथै हाइड्रोलोजी पेनाल्टी घट्दा कम्पनीलाई थप राहत भएको छ। विगतमा तामाकोशी नदीमा उपलब्ध पानीअनुसार विद्युत् उत्पादन गर्न नसक्दा कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई हाइड्रोलोजी पेनाल्टी तिर्नुपर्थ्यो।
आर्थिक वर्ष २०७८/७९ मा ३३ लाख रुपैयाँ रहेको यस्तो पेनाल्टी बढेर आव २०८१/८२ मा २२ करोड रुपैयाँ पुगेको थियो। चार वर्षमा कम्पनीले हाइड्रोलोजी पेनाल्टीबापत करिब १ अर्ब रुपैयाँ तिरेको रञ्जितले बताए। पछिल्लो आर्थिक वर्ष भने कम्पनीले यस्तो पेनाल्टी तिर्नुपरेन।
कम्पनीको वित्तीय सुधारमा दीर्घकालीन ऋणको ब्याजदर घट्नु अर्को महत्वपूर्ण कारण बनेको छ। दीर्घकालीन ऋणको ब्याजदर ८.२५ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशत कायम गरिएको छ। यो दर कम्तीमा तीन वर्ष स्थिर रहने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
ब्याजदर घट्दा कम्पनीले वार्षिक करिब ७५ करोड रुपैयाँ वित्तीय खर्च बचत गर्नेछ। तीन वर्षमा यस्तो बचत करिब २ अर्ब २५ करोड रुपैयाँ पुग्ने रञ्जितले बताए।
गत वर्षको बाढीबाट क्षतिग्रस्त आयोजनाका संरचना पुनर्निर्माणमा करिब २५ करोड रुपैयाँ खर्च भए पनि सबै खर्च समायोजन गरेर कम्पनी नाफामा जाने अवस्थामा पुगेको उनले बताए। कम्पनीको आम्दानी सुधार र वित्तीय लागत घटेसँगै लामो समयदेखि दबाबमा रहेको आयोजनाको वित्तीय अवस्था क्रमशः सबल बन्दै गएको छ।
