नुवाकोट। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् ।
नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले आज आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मुल मुद्दा रहेको बताए ।
“राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक पीडितसम्म पुर्याउने काममा तीनै तहको सरकारले समन्वय गर्न जरुरी छ”, उनले भने, “शव व्यवस्थापन राजनीतिक दलहरूको सर्वस्वीकार्य सहमतिमा गरिन्छ । राज्यले स्रोतको कुनै कमी हुन दिँदैन ।” अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख दुई/तीन वटा स्थानमा तुरुन्तै बेलिब्रिज राखिनेसमेत बताए।
त्यसैगरी, सोही छलफलमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशीमा हालै आएको बाढी कल्पनाभन्दा बढी शक्तिशाली भएकाले अहिले राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएको उल्लेख गरे। उनले भने, “आजसम्म जुन स्तरमा काम भइरहेको छ, राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएकाले मात्र यति सम्भव भएको हो ।”
उहाँले तीनै तहको सरकारले स्वतःस्फूर्त रुपमा काम गरिरहेको बताए। हिजोसम्म उद्धारलाई प्राथमिकता दिएकामा आजदेखि शव सङ्कलनमा जोड दिएको उहाँले जानकारी दिए। उनले हाल सरकारसँग सात वटा बेलिब्रिज रहेकाले सम्भाव्यता हेरेर छिटोभन्दा छिटो कहाँकहाँ जोड्न सकिन्छ त्यहाँ राख्ने पहल भइरहेको बताए । शव व्यवस्थापनका लागि अब धेरै समय नभएकाले कुनै ढिलाइ नगर्ने प्रतिबद्धता जनाउनुभयो । “यो चोट सम्पूर्ण सरकारलाई लागेको चोट हो”, उनले भने, “यसका लागि सरकारले सकेको सबैथोक गर्छ ।”
सोही छलफलमा राष्ट्रियसभाका सांसद कृष्णप्रसाद अधिकारीले आफ्ना सुझाव राख्दै अब राहत सामग्री वितरणलाई प्राथमिकता दिन अनुरोध गरे।
त्यसैगरी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङले राहत, पुनःस्थापना, उद्धारजस्ता काममा प्रदेश सरकारले उत्तिकै सक्रियता देखाएको बताए । उनले अझै केही स्थानमा खोजी गरेर उद्धारका पर्खाइमा रहेकालाई ल्याउनुपर्ने सुझाव दिए।
