दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी गरेको हो ।
आवश्यक प्रक्रिया पूरा गरी बोलपत्रमार्फत चालु आर्थिक वर्षमा साबिकको मूल्यमा दश प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।
फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेपछि सहज भएको लम्सालले बताए । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गरिएको छ ।
एकै ठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ । फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सहयोग भएको छ ।
फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिदका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिए पनि हालसम्म निर्णय हुन नसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउँदै आएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ ।
नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गरिरहेको छ । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।
