काठमाडौं। एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ।
एनसेलका अनुसार निःशुल्क सेवा भदौ २० गतेदेखि भदौ २६ गतेसम्म जारी रहनेछ। प्रभावित क्षेत्रमा सहज सञ्चार कायम राख्दै खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले सेवा अवधि थप गरिएको कम्पनीले जनाएको छ।
यसअघि बाढी आएको दिन भदौ १० गते एनसेलले प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि सेवा अवधि सात दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको थियो।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई समन्वय गर्न सहज होस् भनेर निःशुल्क सेवा थप गरिएको बताए।
कम्पनीका अनुसार भोटेकोशी बाढीबाट प्रभावित भएका २७ वटा एनसेल टावरमध्ये २५ वटा अर्थात् ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन्। बिहीबार नुवाकोटको त्रिशुलीमा रहेको २५औँ प्रभावित टावर पुनः सञ्चालनमा ल्याइएको हो।
रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एक टावर बाढीबाट पूर्ण रूपमा नष्ट भएको एनसेलले जनाएको छ। त्यस्तै, रसुवाकै उत्तरगया–तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पुर्याएर सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
विपद्का समयमा सूचना आदानप्रदान, समन्वय, खोज तथा उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सञ्चार सेवाको महत्वपूर्ण भूमिका रहने भन्दै एनसेलले प्रभावित क्षेत्रमा सेवा निरन्तरता दिन आवश्यक काम गरिरहेको जनाएको छ।
एनसेलले सम्बन्धित निकायबाट जारी हुने जानकारीमूलक सन्देशहरू एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत समेत सर्वसाधारणसम्म पुर्याउँदै आएको छ।
यसैबीच, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड सहयोग गरेको थियो।
